पछिल्लो २४ घन्टामा थप ९ सय ६६ कोरोना संक्रमित डिस्चार्ज

विविध

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ६६ जना कोरोना संक्रमित निको भएका छन् ।  आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा थप ९ सय ६६ जना कोरोना संक्रमित निको भएको बताउनुभयो ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४११ जना रहेको छ । आइतबार  पीसीआर विधिबाट ९ हजार ५८४ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म  ९ लाख १४ हजार २९० जनाको कोरोना परीक्षण भएको छ ।  अहिले देशभरीका विभिन्न  क्वारेन्टाइनमा ७ हजार ४५१जना रहेका छन् ।