असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान सुचारु हुने

विविध

असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो ।  वायुसेवा संचालकहरूले  ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्‍ने अडान लिएपछि  मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन  अनुमति दिएको हो ।

सचिव सचिव केदार बहादुर अधिकारीले उपलब्ध यात्रु बोक्‍न पाउने गरी उडान भर्न वायु सेवा संचालकलाई अनुमति प्रदान गरिएको अन्‍नपूर्ण अनलाइनसँग बताए ।  मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज पाँच गतेदेखि नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई २५ प्रतिशत उडान संख्या कायम गर्ने गरी समय तालिका स्वीकृत गर्न निर्देशन दिएको जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञापछि विभिन्न क्षेत्र खुल्न थालेपछि मन्त्रालयले शुक्रबार शतप्रतिशत क्षमतामै उडान गर्ने निर्णय गरेको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।