मलमास : असोज २ गतेदेखि ३० गतेसम्म

विविध

यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।

एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ । महिनामा दुईवटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ ।
अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको थियो । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ ।। कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ ।

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ । मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।