सभामुख समक्ष कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग

विविध

काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका उपत्यका लगायत देशभरीको जनजीवन प्रभावित बनेको भन्दै सांसदहरुले सभामुखलाई भेटेर छुट्टै संसदीय समिति गठनको माग गरेका हुन ।

अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको सांसद भीमसेनदास प्रधानले बताउनुभयो । संसदमा १६ समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्ने सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको उनले बताए ।

सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताए ।

भेटपछि सभामुख सापकोटाले सकारात्मक प्रतिकृया दिएको सांसद प्रधानले बताए । ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडी बढाउने प्रतिवद्धता सभामुख सापकोटाले गरेको उनले बताए ।