प्रेरणाको दाइजो विवाद मुद्दामा फेरि सुनुवाइ

विविध

काठमाडौं, २१ असार । पुनरावलोकनबाट समेत टुंगिइसकेको विषयवस्तुलाई आधार बनाएर पूर्वअधिराजकुमारी प्रेरणा शाहले दर्ता गरेको निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाइ सुरु गरेको छ । तत्कालीन राजा ज्ञानेन्द्रबाट दाइजोका रूपमा पाएको सम्पत्ति राष्ट्रियकरण गर्ने सरकारको निर्णयविरुद्ध प्रेरणाले दायर गरेको मुद्दा फेरि उठाउन नमिल्ने गरी टुंगिसकेको भए पनि सर्वोच्चले शुक्रबार सुनुवाइ गरेको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीसहितको संयुक्त इजलासले ‘मिसिल झिकाउने’ आदेश गरेको छ । सर्वोच्चबाट एकपटक न्यायनिरूपण भइसकेको मुद्दा फेरि दोहोर्‍याउन मिल्दैन ।मुद्दा फैसला क्रममा कुनै गम्भीर पक्ष छुटेमा वा समस्या भएमा पुनरावलोकनका लागि निवेदन दिने व्यवस्था छ । तीन न्यायाधीशको इजलासले उक्त निवेदन जायज ठानेमा पुनरावलोकनका लागि निस्सा दिने चलन हुन्छ । पुनरावलोकनबाट किनारा लागिसकेको मुद्दा भने दोहोरिँदैन ।०७३ पुस २१ गते प्रेरणाको मुद्दा फैसला भएकोमा झन्डै दुई वर्षपछि ०७५ पुस ६ गते उनले अर्को निवेदन दर्ता गराएकी हुन् । तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउने बेलामा दर्ता भएको निवेदनमाथि शुक्रबार पहिलो पटक सुनुवाइ भएको हो । प्रेरणाले निवेदनमा नेपालको संविधानले नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको सम्पत्तिको हकलाई नेपाल ट्रस्ट ऐनको केही दफाले उल्लंघन गरेको दाबीसहित त्यसलाई बदर गर्न माग गरेकी छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।