भान्सामा भित्रिँदै विषादी तरकारी, भारतबाट ४४ प्रतिशत आयात

विविध

काठमाडौं, २१ असार । भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ । यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै उपभोक्ताको भान्सामा पुग्ने भएको छ ।मन्त्रिपरिषद् बैठकले बिहीबार फलफूल तथा तरकारीमा विषादी परीक्षण नगरीकनै आयात गर्न पाउने निर्णय लिएको कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बताए ।वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले असारदेखि लागू हुने गरी आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । यो व्यवस्था राजपत्रमा सूचना प्रकाशित गरी लागू भएको थियो । कृषि मन्त्रालयले विषादी परीक्षणको काम गर्न थालेको थियो । ‘परीक्षण थालेपछि हल्लाखल्ला भयो,’ मन्त्री खनालले शुक्रबार भने, ‘हिजो फेरि वाणिज्यले पूर्वाधार नभएको भन्दै परीक्षण गर्न नसक्ने अर्को प्रस्ताव मन्त्रिपरिषद्मा ल्यायो, सोही प्रस्ताव पारित भयो ।’

भारतबाट ४४% आयात
मुलुकभित्रै मागअनुसार उत्पादन नहुँदा तरकारीको ठूलो हिस्सा भारतमै आयात हुने गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार कालीमाटी बजारमा दैनिक करिब ८ सय टन तरकारी भित्रिन्छ । त्यसमध्ये करिब ४४ प्रतिशत भारतको हो । गत आर्थिक वर्षमा भारतबाट ४४.०८ र चीनबाट ०.४३ प्रतिशत तरकारी भित्रिएको थियो । समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार भारतबाट सिजनल तरकारी आयात हुन्छ । कालीमाटी तरकारी बजारले उपत्यकाको मागको करिब ७५ प्रतिशत पूर्ति गर्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिना १२ अर्ब ५७ करोड रुपैयाँको ताजा तरकारी आयात भएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।