लकडाउनमा जाने सरकारको तयारी, प्रधानमन्त्री ओली देउवा र ठाकुरसँग बसेर विज्ञसँग परामर्श

विविध

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि फेरि कडा कदम चाल्ने संकेत गरेका छन् । उनले आज मुख्य राजनीतिक दलका नेताहरुलाई बालुवाटारमा डाकेर स्वास्थ्यलगायत विभिन्न क्षेत्रका विज्ञसँग परामर्श गरिरहेका छन् ।प्रधानमन्त्रीनिवास बालुवाटार विज्ञसँगको परामर्श लिने छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन् । बैठकमा नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित रहे ।सर्वदलीय छलफलमा प्रधानमन्त्री ओलीको सामुन्ने अग्रपंक्तिको भागमा देउवा, ठाकुरका अलावा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडालगायत छन् । पछिल्लो भागमा मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्रीका सल्लाहकारहरुका अलावा विज्ञहरु सहभागी छन् ।प्रधानमन्त्री ओलीले विज्ञसँग छलफल गरी काठमाडौं उपत्यकालगायत मुख्य शहरहरुमा लकडाउनबारे निर्णयतर्फ बढ्ने बुझिएको छ । विशेषगरी उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि फेरि लकडाउन गर्नुपर्ने सुझाव स्वास्थ्य मन्त्रालयका अधिकारी देखि विज्ञहरुबाट आइरहेको छ ।