dog

काठमाडौंमा कुकुर पाल्न महानगरपालिकाको अनिवार्य स्वीकृति चाहिने

Uncategorized

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ देखी कुकुर पाल्नको लागि महानगरपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

आगामी आवको नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधी फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्ता पशुहरुको ब्यबस्थापन बहुउद्देश्य परियोजना बहुउेश्यीय परियोजना मार्फत गरिने उल्लेख छ ।

घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न बृहद भेक्सिनको कार्यक्रम ल्याइनेछ भने घरपालुवा जनावरहरुको स्वास्थ्य जाँच सेवाका लागि उपचार केन्द्रको ब्यबस्था गरिनेछ ।

यस्तै शहरी फलफुल खेती, कौशी खेती, माटो विनाको खेती प्रविधिको विकास गर्ने र यस कार्यलाई समुदाय सहभागी लक्षित हुने नीति लिइने उल्लेख छ ।

औषधी तथा खाद्यबस्तु लगायतका आधारभूत उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र गुणस्तर कायम गर्न स्थानीय बजार व्यवस्थापन सम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याई खाद्यवस्तुको गुणस्तर परीक्षणको लागि अत्याधुनिक उपकरण सहितको मोबाइल भ्यान सञ्चालनमा पनि नीति तथा कार्यक्रममा समावेश रहेको छ ।

सहकारी तथा निजी क्षेत्रको लगानीमा गुणस्तरीय एवं आधुनिक बधशाला निर्माण तथा सञ्चालन गर्न सहयोग गरिनेछ । वध गरिने जनावरको स्वास्थ्य परीक्षण, सफा र स्वस्थ बधशालाको विकास, मासु पसलको गुणस्तरीयता परीक्षण गर्ने कार्य थप ब्यबस्थित गरीनेछ ।

तरकारी तथा फलफूल बजार, वधशाला, माछा–मासुका बजारलाई आधुनिकीकरण गरी व्यवस्थित गर्ने कार्यलाई अगाडि बढाइनेछ । यस्ता व्यवसायहरुको वस्तुगत बिवरण तयार गरी न्यूनतम मापदण्ड तोक्ने र अनुगमन गर्ने कार्य गरिने उल्लेख छ । काठमाडौंबासीलाई तरकारी खेतीमा दिशानिर्देश गर्न कृषि क्यालेण्डर जारी गरिनेछ ।

सरकारी, अर्धसरकारी, निजी ठूला भवन, सपिङ्ग कम्प्लेक्स, अपार्टमेन्ट आदिमा कौशी खेती तथा कौशी बगैंचाको लागि प्रोत्साहन गरिनेछ । उत्पादित तरकारी, फुल बिरुवा महानगरले खरिद तथा बिक्रि वितरणमा सहजीकरण गर्ने ब्यबस्था मिलाइने नीति तथा कार्यक्रममा रहेको छ ।
ब्यक्ति, समूह तथा सहकारीले उत्पादन गरेका तरकारीहरु बिक्री वितरण तथा आपूर्ति ब्यबस्था सहजताको लागि प्रत्येक वडामा निश्चित समयको लागि तरकारी तथा घरेलु उत्पादन बजारको ब्यबस्था गरिनेछ, जसको सञ्चालन स्थानीय समुदायले गर्ने उल्लेख छ ।

खाद्य सुरक्षालाई मध्यनजर गरी निजी जमीनको उपयोग गर्न तोकिएको मापदण्ड निर्धारण गरी व्यवसायिक खेती तथा तरकारी खेती गर्न प्रोत्साहन गरिनेछ । बागमती, विष्णुमती, रुद्रमती, ईच्छुमती, मनोहरा, खहरे खोला लगायतका नदी किनार, सार्वजनिक तथा पर्ति जग्गाहरुमा फलफूल तथा अन्य बिरुवाहरु रोपी हरियाली प्रबद्र्धन गरिनेछ ।