युएईबाट १ सय ६८ जना नेपाली लिएर काठमाडौँ आइपुग्यो एयर अरेबियाको जहाज

विविध

२०७७ जेष्ठ २३  : काठमाडौँ – युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौँ आइपुगेको छ । कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उक्त जहाज दिउँसै आउने भनिए पनि नेपाली दूतावास र एयरलाइन्सबीच समन्वय नहुँदा जहाज उडानमा ढिलाइ भएको थियो । दूतावासले आफूले तयार पारेको सूची अनुसारका यात्रु लैजानु पर्ने बताए पनि एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने तयारी भएपछि ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ ।

उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरसम्म लैजाने र विवरण लिएपछि सम्बन्धित प्रदेशको जिम्मा लगाइनेछ। हरेक प्रदेशका लागि एक एक जना मन्त्रीलाई समन्वयको जिम्मा दिइएको छ ।

यसअघि शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली फर्किएका छन् । उनीहरु आजै घर फर्किएको सेनाले जनाएको छ ।