१८ वर्ष पुगेकालाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

विविध

काठमाडौँ — सबै नागरिकलाई सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने भन्दै नेमकिपाका सांसद प्रेम सुवालले संघीय संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएका छन् । शुक्रबार दर्ता भएको संविधान संशोधनका लागि गैर सरकारी विधेयकमा मुलुकको कार्यकारी राष्ट्रपतिलाई बनाउनुपर्ने लगायतका माग राखिएका छन् ।

सुवालको संविधान संशोधन विधेयकमा राष्ट्रिय जनावर एकसिंगे गैडा हुनुपर्ने माग रहेको छ । त्यस्तै, गैरआवासीय नेपाली नागरिकताको प्रावधान संविधानबाट हटाउनुपर्ने, नेपालीलाई विदेशमा सम्पत्ति राख्न नमिल्ने संवैधानिक व्यवस्था गर्नुपर्ने संशोधन विधेयकमा राखिएको छ ।

सुवालले दर्ता गराएको संविधान संशोधन विधेयकमा नागरिकलाई स्वस्थ बनाउनका लागि सैनिक तालिम दिनुपर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ । विधेयकमा भनिएको छ, ‘नेपालीलाई स्वस्थ बनाउन १८ वर्ष उमेर पुगेका युवालाई अनिसवार्य सैनिक तालिम दिइनेछ ।’

त्यस्तै, नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग राखिएको छ । त्यसका लागि संविधानको धारा ५६ को उपधारा १ संशोधन गर्नुपर्ने सुवालको माग छ । गैरसरकारी विधेयकको रूपमा संविधानको संशोधनको यो चौथो विधेयक हो a।