‘न्यानाे नानी’ मेसिनले अमेरिकामा जित्यो ‘पिपुल्स च्वाइस अवार्ड’

रोचक

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ ।

अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको हो।

अमेरिकी दुताबासले आविस्कार केन्द्रका ईन्जिनियरहरुलाई अमेरिका आउने भिषा नदिए पछि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो-मेडिकल उपकरण “बेबी वार्मर” कार्गो द्वारा पठाएको थियो र नेपालमा निर्मित बेबी वार्मरले सबैभन्दा धेरैले मन पराएको पुरस्कार (People’s Choice) जितेको हो । खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उखान जस्तै राष्ट्रिय आविष्कार केन्द्रलाई दूतावासको भिषा अवरोधले रोक्न सकेन , आविष्कार केन्द्रका इन्जिनियरहरुले उक्त प्रदर्शनीमा नेपालबाट नै जुम बाट भाग लिएका थिए । साथै सोहि युनिभर्सिटीका मेडिकल बिद्यार्थीहरुले दर्शकहरु लाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरेका थिए र आफुले जाने सम्मको बिस्तृत जानकारी पनि दिएका थिए । सो प्रदर्शनीमा डा. दामोदर पौडेल, डा. संजु महतो, प्रशान्त मानन्धर र आविष्कार केन्द्रका अध्यक्ष पुन उपस्थित थिए ।