एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप : आज प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता

अन्तराष्ट्रिय

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन ‘एमसीसी’ को टोलीले आज पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिदैछ । टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम छ ।

एमसीसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको हो । टोलीले हिजो एमाले अध्यक्ष केपी ओली तथा सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जसपा का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसिसीबीच भएपछि नेपाल आएको यो उच्चस्तरीय टोली हो । सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

सम्झौता भएको परियोजनामा ४ सय किलोभोल्ट क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा तीन सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ । सम्झौतका कतिपय बुँदालाई लिएर नेपालमा विरोध हुँदै आइरहेको छ ।