नगरपालिकाले दियो बिनाधितो ६७ लाख सहुलियत कर्जा

विविध

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ ।

भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो ।

प्रतिउद्यमी पाँच लाख रुपैयाँका दरले कर्जाको रकम उपलब्ध गराइएको छ । पहिलो चरणमा छनोट भएको १४ जनालाई आज नगरप्रमुख सुरेन्द्र बिष्टले चेक हस्तान्तरण गरे । कार्यक्रमअन्तर्गत नगरपालिकाको सिफारिसमा बंैकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी र दलित सुमदाय व्यवसाय विकासका लागि कर्जाको रकम उपलब्ध गराइएको छ ।

बैंकले पहिलो चरणअन्तर्गत ६७ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकका शाखाप्रमुख महेशराज जोशीले बताए । उनका अनुसार बैकले दीपेश केरा फार्मलाई दुई लाख ५० हजार रुपैयाँ, रोजी पोल्ट्री फार्मलाई चार लाख ९० हजार रुपैयाँ र अन्य व्यावसायिक फार्मलाई पाँच÷पाँच लाखका दरले कर्जा उपलब्ध गराएको छ । युवालाई स्वरोजगार बनाउने र व्यवसाय प्रवद्र्धन गर्न कर्जा लगानी गरिएको छ । नगरपालिकाको सिफारिसमा बैंकले बिनाधितो बिना व्याजमा कर्जा लगानी गरिएका उद्यमीलाई कर्जा दिने र नगरपालिकाले उद्यमीको व्याज तिरिदिने सम्झौता गरिएको छ ।

गत वर्ष बैंक र नगरपालिकाबीच मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत ऋण प्रभाव तथा व्याज अनुदानसम्बन्धी सम्झौता भएको थियो । उद्यमी युवालाई कर्जा रकमको चेक हस्तान्तरण गर्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्वरोजगार सिर्जना गर्न र उद्यमशीलताका विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।

“सीप भएका र केही गर्ने इच्छा भएका युवाले पूँजी अभावमा बेरोजगार बस्नुपर्ने अवस्था छ,” नगरप्रमुख विष्टले भने “नगरपालिकाले व्यवसाय सुरुआतसँगै त्यसको प्रवद्र्धनका लागि लगानीस्वरुप ऋणमा व्याज अनुदान सहयोग गरेको छ ।” सबैलाई उत्पादनसँग जोड्न सके नगर समृद्धिमा अगाडि बढ्ने उनको भनाइ रहेको छ ।