वीरगन्जमा स्टिल फ्याक्ट्रीमा विस्फोट, ११ मजदुर घाइते

Uncategorized

वीरगन्ज । वीरगन्ज महानगरपालिका–२२ मनियारीमा रहेको सर्वोत्तम स्टिल उद्योगमा बिहीबार फलाम पगाल्ने भट्टी विस्फोट भएर आगलागी हुँदा ११ जना मजदुर घाइते भएका छन्।

आज बिहीबार बिहान अचानक भट्टी पड्किँदा कम्पनीमा कार्यरत मजदुर घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा आठ भारतीय र एक नेपाली छन् भने दुईजनाको ठेगाना खुल्न सकेको छैन।

घाइतेमध्ये भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे, लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, लखनउका २० वर्षीय सुशील कुमार, लखनउका ३७ वर्षीय मानसिया, लखनउका ३० वर्षीय रामपुकार यादव, बारा छातापिपराका २२ वर्षीय टिन्कु दास र ठेगाना नखुलेका २७ वर्षीय गगन नायकको अवस्था गम्भीर रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिए। उद्योगमा भट्टी विस्फोट भएर लागेको आगो वीरगन्ज महानगरपालिकाबाट गएका २ वटा वारुण यन्त्रले निभाएका छन्।