‘ग्लोबल टीन हीरो’ का अन्तिम २० प्रतियोगीसँग दूतावासको अन्तरक्रिया

विविध

काठमाडौं । भारतीय राजदूतावास र एम/एस ग्लोबल प्राइभेट लिमिटेडले दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ‘ग्लोबल टीन हीरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तरक्रिया गरेको छ । नेपालका विभिन्न जिल्लाबाट आएका १४ देखि २० वर्ष उमेर समूहका अन्तिम २० प्रतियोगीहरुले उत्सुकता एवम् चासोका साथ नियोग उप–प्रमुख खम्पासँग अन्तरक्रिया गरेका छन् । २० सहभागीहरुमा सामाजिक उद्यमी, अभियन्ता, शिक्षक लगायत नवीन सोच भएका व्यक्तिहरु रहेका थिए ।

प्रतियोगीहरुले आफ्ना व्यक्तिगत जीवन कथा र आफूले गरेका कामहरुको अनुभव एक आपसमा साटासाट गर्नुका साथै आफ्ना समुदाय, आफ्ना परिवार र आफू स्वयमका लागि साँचेका भविष्यका आकांक्षाहरु बारे बताएका थिए । आ–आफ्ना समुदायको विकासका लागि प्रत्येक प्रतियोगीले आफ्नै तवरबाट योगदान पु¥याएका छन् र सानै उमेरमा उनीहरुले देखाएको साहस, उनीहरुले पुर्‍याएको योगदान र हासिल गरेका उपलब्धिहरुलाई कदर गर्न हेतु उनीहरुलाई प्रतिस्पर्धीको रुपमा छनौट गरिएको जनाइएको छ ।

अन्तरक्रियामा बोल्दै नियोग उप–प्रमुख खम्पाले पहलकदमी थालनीको महत्वबारे चर्चा गर्दै प्रत्येक प्रतियोगीहरुले परिवर्तनको सम्वाहक बन्न देखाएको जोश र उत्साहको सराहना गरिन् । ती प्रतियोगीहरु नेपाल र भारत–नेपाल सम्बन्धको भविष्य भएकोे बताउँदै खम्पाले उनीहरुलाई समुदाय, समाज र देशको रुपान्तरणतर्फ काम गर्न प्रेरित गरिन् । साथै उनले प्रतियोगीहरुलाई क्षेत्रीय सम्बन्ध विस्तारलाई जोड दिदै नेपालको मात्र नभई सिंगो दक्षिण एसियाको भविष्य कोर्ने नेतृत्वदायी भूमिकामा खरो उत्रिन पनि अभिप्रेरित गरिन् ।