‘रामबहादुर’ ट्विटरको ट्रेण्डिङ्गमा

रोचक

नेपालमा रामबहादुर नाम ट्विटरको ट्रेण्डिङ्गमा आएको छ। पछिल्लो दिनमा तालिबान र अफगानिस्तान नेपालको ट्विटर ट्रेण्डिंगमा रहिरहेको बेलामा अचानक रामबहादुर ट्विटर ट्रेण्डिंगमा देखा परेको हो ।रामबहादुरको किस्सा नेपालको सामाजिक सञ्जालमा छाईरहेको छ जसले गर्दा रामबहादुर नामलाई नै ट्विटरले ट्रेण्डिंगमा ल्याएको हो। ट्विटर ट्रेण्डिंगमा रामबहादुर परेपनि कति ट्वीट त्यस विषयसँग सम्बन्धित छ भनेर देखाएको छैन् ।

ट्विटर ट्रेण्डिंगमा रामबहादुर पर्नुको खास कारण भने नेपाली युवा उद्यमी तथा व्यवसायी तथा सौरभ ज्योती हुन् ।

ज्योतीले एउटा पोडकास्टमा भनेको विषयमा समावेश भएको ‘रामबहादुर’ नाम अचानक चर्चामा आएको हो । उनले सन्जय गुप्ता नामक एक पोडकास्टरसँग गरेको कुराकानीको एउटा अंशमा रामबहादुरको चित्रण गरेका छन् जसमा उनले रामबहादुरलाई साधारण नेपालीको रुपमा परिभाषित गरेका छन् । जो चीनमा बनेको अलार्मदेखि अमेरिकी खानेकुरा, लिभाइज जीन्स, बंगलादेशी सर्ट लगाएर जापानी मोटरबाईकमा दिनभर जागिर खोज्न घुम्ने र बेलुका बेरोजगार भएको भन्दै मलेशियामा निर्मित सोफामा बसेर फ्रेन्च वाईन खाँदै चिनियाँ टिभी हेर्ने विषयलाई बताएका छन् ।

उनले नेपाली उत्पादनहरु नै नभएको र भएपनि त्यसको प्रबर्द्धन नभएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुले बजार ओगटेको विषयलाई समावेश गरेका थिए । सो क्लिप सामाजिक सञ्जालमा आएसँगै रामबहादुर चर्चामा आएको थियो। विशेषगरि ट्विटरमा यस बारेमा निकै चर्चा भएको थियो। तर अन्तर्राष्ट्रिय र महंगा ब्राण्डहरु प्रयोग गर्ने सामान्य नेपाली रामबहादुर कसरी बेरोजगार भयो भन्दै सामाजिक सञ्जालमा सो बारेमा बहस शुरु भएको थियो । जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न किसिमले उनलाई र रामबहादुर नामलाई ट्रोल गर्न थालेसँगै सो नाम ट्विटर ट्रेण्डिंगमा आएको हो ।