ओली र विप्लवको भोलि २ बजे संयुक्त सम्बोधन

Uncategorized

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच आज तीन बुँदे सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ । सरकारले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन ठूलो सफलता हाँसिल गरेको छ । यसअघि विखण्डनवादी आरोप लागेका सिके राउतलाई पनि सरकारले सरप्राईज रुपमा वार्ता गरेर मूलधारको राजनीतिमा ल्याएको थियो । विप्लव समूहसँग सरकारको वार्ता चल्दै गर्दा कतिपयले राजनीतिक स्टन्ट गरिएको भन्ने आरोपसमेत लगाए । तर, सरकार र विप्लव दुवै समूहले अत्यन्तै सुझबुझपूर्ण ढंगले वार्तालाई निश्कर्षमा पुर्याएरै छाडे । फलतः वार्ता सुरु भएको दुई दिनमै तीन बुँदे सहमति भयो । यो सहमतिसँगै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवासमेत गरेको छ । र, जेलमा रहेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्ने भएको छ ।

विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् । प्रेस नोटका अनुसार भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने भएका छन् ।