‘ओली, देउवा र प्रचण्डलाई नख्खु जेलमा थुन्छौं’- रवीन्द्र मिश्र

राजनीती

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पुर्‍याउने चेतावनी दिएका छन् ।

सो पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका छन् । उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्‍याउने चेतावनी दिएका थिए ।

‘विवेकशील साझा पार्टी यो देशको नेतृत्वमा पुग्छ । बालुवाटारबाट बालकोट जानु भएका नेतालाई आराम गर्न नख्खु जेल पुर्याउँछौ’, उनले भने, ‘बूढानीलकण्ठबाट बालुवाटार आउने सपना देख्नु भएको होला । हेरौँला । तपाईँ पनि नख्खुमा घाम ताप्न पठाउनेछौँ । उहाँलाई पनि खुमलटारबाट नख्खुमा जानुपर्नेछ ।’

उनले प्रधानमन्त्री ओलीले ‘कू’ गरेको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले निर्णय उल्टाए कसरी हुन्छ चुनाव ? भन्दै प्रश्न गरेका छन्।

‘सबैले सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छन् । केपी ओली सर्वोच्च अदालतले के निर्णय गर्ला भनेर थरथराइरहनुभएको छ । उहाँ किन डराइरहनुभएको छ ?’, उनले सोधे, ‘देशमा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्छ । उहाँ सर्वोच्च अदालतले आफूले चाहेको जस्तो निर्णय गर्देला र म खाउँला भनेर पर्खिरहनुभएको छ।’

उनले देशमा सम्पत्ति शुद्धीकरण, अख्तियार, सर्वोच्च रहेको र यी संस्थालाई स्वतन्त्र रुपमा काम गर्न दिनेबित्तिकै तिनले काम गर्न थाल्ने बताए । मिश्रले देशमा भ्रष्टाचार बढेकाले थप जेलको संख्या थप गर्नुपर्ने बताएका छन् ।