विप्लवलाई मनाउन यस्तो छ तयारी

Uncategorized

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मनाउन सरकारका एकजना मन्त्री सक्रिय छन् । प्रधानमन्त्री ओलीको दूतका रुपमा खटिएका पूर्व माओवादी ती मन्त्रीले अनौपचारिक वार्ता सकारात्मक बन्दै गएको बताएका छन् ।

‘हाम्रो कुराकानी भइरहेको छ,’ रिपोर्टर्स नेपालसँग ती मन्त्रीले विप्लव समूहसँग भइरहेको वार्ताबारे भने,‘छिट्टै नतिजा निस्कनेछ ।’ त्यो नतिजा के हो भन्नेबारे उनले पर्खन भने ।

विप्लवका तर्फबाट केही दिनमै वार्ता टोली तयार हुने बुझिएको छ । सरकारले पनि वार्ताको वातावरण बनाउन विप्लवमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । सम्भवत आगामी मन्त्रिपरिषद बैठकबाट प्रतिबन्ध हटाइनसक्छ । विप्लव पक्षले अनौपचारिक वार्तामा आफ्ना नेता तथा कार्यकर्तालाई निशर्त थुनामुक्त गर्नुपर्नेलगायतको प्रस्ताव गरेको छ ।

विप्लवलाई महासचिव देखि उपप्रधानमन्त्रीसम्मको प्रस्ताव

यसैगरी, विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सूत्रमार्फत् महासचिवको प्रस्ताव गरिएको छ । उनी ओली समूहको नेकपासँग एकीकरण गर्न आएमा महासचिव बनाउने प्रस्ताव पुगेको हो ।

यसअघि विप्लवले ८ फागुनमा प्रेस विज्ञप्ति जारी गरी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

विप्लव संवादका लागि सकारात्मक भएको विज्ञप्ति आउनु अघि उनी नेतृत्वको नेकपाले तीन कम्युनिस्ट घटकसँग २९ माघमा रणनैतिक मोर्चा गठन गरी घोषणा गरिसकेको छ । मोर्चामा मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुती नेतृत्वको कम्युनिस्ट पार्टी छन् । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुर्य चिन्ह रहेको नेकपाविरुद्ध अदालतमा मुद्दा समेत दायर गरेको छ ।

स्मरणीय रहोस्, २० माघमा खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओली सुदर्शनलाई भेटेका थिए । यो भेटलाई विप्लवसँग वार्ताको माहोल तयार गरिएको कदमका रुपमा लिइएको छ ।