माधवनारायणका बर्तालु पनौतीमा

विविध

पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका बर्तालु माधवनारायण भगवान्सहित काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौती पुगेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका बर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शाली नदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ । दिउँसो पनौती हिँडेका बर्तालु भक्तपुर हुँदै काभ्रेपलाञ्चोकको पनौती पुगेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो ।

तृतीयाको बेलुकी पनौती पुगेका बर्तालुले माघ शुक्ल चतुर्थीको बिहान त्रिवेणी घाटमा स्नान गरी व्रत पूजा गरेका छन् । स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर सांस्कृतिक शहर पनौती परिक्रमा गरी चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिन्छ ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शाली नदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका बर्तालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुनेछ।

विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको छ।

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी विना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शाली नदीमा आएको समितिले जनाएको छ ।

शनिबार र सार्वजनिक बिदा परेका दिन शाली नदीमा भक्तजनको भीड लाग्ने गरेको छ । शाली नदीस्थित माधवनारायण मन्दिर जाने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम छ । मास्क नलगाई जानेलाई समितिले निःशुल्क मास्क वितरण गरिरहेको छ । सबै भक्तजनलाई हातमा स्यानिटाइजर लगाएरमात्र मन्दिर प्रवेश गराइन्छ ।

मन्दिर नछिर्ने तर शालीनदी क्षेत्रमा आउने भक्तनलाई भने समितिले माइकिङ गरेर मास्क लगाउन आह्वान गर्दै आएको छ । शाली नदीमा एकमहिने माधवनारायण  मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवालगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायात भीड हुने गरेको छ ।