म्यानमारको ‘कू’को विरोधमा सुरक्षा परिषदले जारी गर्ने तयारी गरेको वक्तव्यमा चीनको रोक

अन्तराष्ट्रिय

म्यानमारमा भएको सैन्य ‘कू’ को विरोधमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले जारी गर्ने तयारी गरेको वक्तव्यमा चीनले रोक लगाएको छ ।

चीनको अवरोधका कारण मंगलबारको सुरक्षा परिषदले सैन्य कू को विरोधमा वक्तव्य जारी गर्न नसकेको हो ।

सुरक्षा परिषदको स्थायी सदस्यका रुपमा चीनसँग भिटो शक्ति रहेकाले संयुक्त वक्तव्यका लागि चीनको समेत सहमति आवश्यक हुने गर्दछ ।

म्यानमारमा भएको सैन्य ‘कू’ को अन्तर्राष्ट्रिय समुदायले निन्दा गर्दै आएका छन् । कू को विरोधमा विश्व समुदाय एक भइरहँदा चीनले सुरक्षा परिषदमा अवरोध गरेको हो ।

म्यानमारको याङ्गुनका बासिन्दाले भाँडा तथा गाडीका हर्न बजाएर सैन्य कू को विरोध गरेका छन् । स्वास्थ्यकर्मीहरुले देशका प्रमुख शहरहरुमा हडतालको योजना बनाएका छन् ।

अभियन्ताले सत्ताप्रति नागरिक बहिष्कारको आह्वान गरेका छन् । सोमबार सेनाले निर्वाचित सरकारका राष्ट्रपति, नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । सेनाले एक वर्षका लागि देशमा संकटकालको घोषणा गरेको छ ।