पाकिस्तान सुपर लिगको ड्राफ्ट आज, दश नेपाली खेलाडी सूचीमा

खेलकुद

पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेटको ड्राफ्टबाट आज खेलाडी छनोट हुँदैछ । पाकिस्तानको लाहोरमा आज साँझ सवा पाँच बजे ड्राफ्टमा रहेका खेलाडीको छनोट हुन लागेको हो ।

ड्राफ्टमा पीएसएल खेल्ने छ टोलीले खेलाडीमाथि बोली लगाउने छन् । ड्राफ्टमा नेपालका १० खेलाडी रहेका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्वाधिक उच्च मूल्यको ‘प्लाटिनम’ समूहको ड्राफ्टमा छन् । यो समूहमा हुने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर समूहको सूचीमा छन् । यो समूहमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख रहेका छन् ।

यो समूहका खेलाडीको मूल्य १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म रहेको छ । यस वर्षको पीएसएल आगामी मार्चमा हुनेछ ।