कस्मिरमा कारमै गोली हानेर भाजपाका ३ नेता-कार्यकर्ताको हत्या !

Uncategorized

दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीहरूले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन् । फिदा हुसेन कुलगम भाजपा युवा मोर्चाका महासचिव थिए । उनीसँगै मजदुर उमर रशीद बेग र उमर रमजान हजम पनि मारिएका छन् । एकजनाको घटनास्थलमै मृत्यु भएकाे र अन्य दुईजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएकाे जनाइएकाे छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हुसैनविरुद्ध त्यसबेला हमला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए । उनी काजिगुन्ड भन्ने ठाउँमा बस्थे । आतंकवादीहरू एक गाडीमा आएका थिए, फिदालाई कारमै गोली हानेर उनीहरू भागेकाे बताइएकाे छ । सरकारी सुरक्षाकर्मीले अहिले आक्रमणकारीको खोजी तीव्र पारिरहेको जनाएका छन् ।

द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ । यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ। बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको हत्या हुँदा पनि यही संगठनको नाम आएको थियो ।

चार महिनाअघि भाजपा नेता वसीम बारीको पनि बांदीपोरामा हत्या गरिएकाे थियाे । यस आक्रमणमा उनका बुबा र भाई पनि मारिएका थिए । वसीम बन्दीपोरा जिल्लाका भाजपा अध्यक्ष पनि थिए ।