थाइल्यान्डमा प्रदर्शन चर्किंदै

अन्तराष्ट्रिय

प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै आइतबार पनि थाइल्यान्डको राजधानी बैंककको सडकमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला गरिएर प्रर्दशन गरिएको छ । कोरोना महामारीकाबिच पनि १० औँ हजार मानिस सडकमा भेला भएका छन् ।

थाइल्याण्डमा पाँच दिन देखि त्यहाँको व्यवस्था विरुद्ध आन्दोलन चर्किएको छ । कोरोना महामारीकाबिच पनि १० औँ हजार मानिसहरु सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले राजाको अधिकार कटौती गरी पूर्ण लोकतन्त्र बहालीको माग गरेका छन् । प्रदर्शन चर्केपछि सरकारले संकटकाल जारी गर्दै पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको थियो । तर त्यसको बेवास्ता गर्दै लोकतन्त्र पक्षधरहरू ठुलो समूहका साथ सडकमा उत्रिएका छन् । शनिबारको प्रदर्शनका क्रममा लोकतन्त्र पक्षधरहरूलाई एकै स्थानमा भेला हुन रोक्ने उद्देश्यले कतिपय सडक तथा रेल सञ्जाल बन्द गरिएको थियो । तर उनीहरू योजनाबद्ध रूपमा विभिन्न रेल स्टेसनमा भेला भएर विरोध जनाएका थिए । विरोधका सहभागीले आफूहरूले बाहिरी दुनियाँलाई बैंककको अवस्थाबारे जानकारी दिन चाहेको बताएका छन् ।

यसअघि थाइ राजा महा भाजिरालंकर्ण जर्मनीबाट फर्किने क्रममा आन्दोलनरत समूहले राजाविरुद्ध नाराबाजीसमेत गरेका थिए । विद्यार्थी समूहहरूले नेतृत्व गरेको प्रदर्शनका सहभागीले प्रधानमन्त्री प्रयुथ चान–ओचाको राजीनामाको माग गर्दै प्रदर्शन चर्काएका हुन् । पूर्वसेना प्रमुख चान–ओचा गत वर्ष भएको विवादास्पद चुनावमार्फत प्रधानमन्त्री बनेका हुन । त्यसअघि सन् २०१४ मा उनले एक रक्तपातविहीन ‘कू’ मार्फत शासनसत्ता सम्हालेका थिए । थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भए पनि प्रदर्शनकारीहरूले राजाविरुद्ध नाराबाजी गरेपछि शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको सरकारले जनाएको छ ।

प्रदर्शनकारीले नागरिक अधिकारका लागि बैंककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय राजा भाजिरालंकर्णको भूमिकाका कारण अधिकांश थाई जनताहरू रुष्ट देखिन्छन् । सार्वजनिक रूपमा विरलै देखिने भाजिरालंकर्णको अधिकांश समय जर्मनीमा बित्छ । थाइल्यान्डमा कोभिड–१९ को महामारी फैलिएपछि त उनी झन् अधिकांश समय विदेशमै बसेको जनाइएको छ ।