फ्रान्समा आतंकवादी आक्रमण, पैगम्बरको कार्टुन देखाउने शिक्षकको टाउको काटी हत्या

Uncategorized

फ्रान्समा फेरि आतंकवादी आक्रमण भएको आशंका गरिएको छ । विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको राजधानी पेरिसमा टाउको काटी हत्या गरिएको हो ।

ती शिक्षकले आफ्ना विद्यार्थीलाई फ्रान्सको चर्चित व्यग्य पत्रिका चार्ली हेब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन देखाएको बताइएको छ । उनीमाथि स्थानीय समय अनुसार शुक्रबार साँझ पाँच बजे आक्रमण भएको हो । मृत्यु हुने शिक्षकको नाम खुलाइएको छैन ।

प्रहरीले आक्रमणकारीको गोली हानी हत्या गरेको छ । उनलाई गिरफ्तार गर्ने प्रयास गरे पनि सफल नभएपछि प्रहरीले गोली हानिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘इस्लामिक आतंकवादी हमलाको संज्ञा दिएका छन् ।

शिक्षकले ‘अभिव्यक्ति स्वतन्त्रता’ पढाएकै कारण हत्या गरिएको उनको दावी छ । घटनाको फ्रान्सको आतंकवाद विरोधी समूहले अनुसन्धान गरिरहेको छ ।

उनीहरुले यसलाई सन् २०१५ मा चार्ली हेब्डो पत्रिकामा आक्रमण गरेर पत्रकारसहित ११ जनाको हत्या गरेको घटनासँग जोडेर अनुसन्धान थालेका हुन् । तीन साताअघि पनि सो पत्रिकाको तत्कालीन कार्यालयअघि दुई जना संचारकर्मीमाथि आक्रमण भएको थियो ।