प्रहरीको काम समस्यामा परेकालाई उद्धार गर्ने र अन्यायमा परेकालाई न्याय दिने हो । तर समस्यामा परेका एक जना मजदूरलाई प्रहरीकै प्रहरी नायब निरीक्षक (सई)ले निर्घात कुटपिट गरेको आरोप लागेको छ । घरभाडा नदिएको भन्दै काठमाडौंको जोरपाटीमा मजदुर प्रहरीबाटै कुटिएका हुन् ।
मजदुरी गरेर जीविकोपार्जन गर्ने सिन्धुपाल्चोकको खाडीचौरका विक्रम तामाङ तामाङ काठमाडौंको जोरपाटी स्थित नेपाल प्रहरीको सामाखुसी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक प्रकाश कार्कीको घरमा बस्दै आएका थिए ।
लकडाउन र निषेधाज्ञाले रोजगारी गुमाएका तामाङले गत चैतयता घरभाडा तिर्न सकेका थिएनन् । डेरामा तामाङ र उनका दाइ बस्थे । लकडाउनले दुवैको रोजगारी खोसियो । कामधन्दा केही नभएपछि दुवै जना घर फर्किए । लकडाउन खुलेपछि कमाएर भाडा तिर्ने गरी तामाङ काठमाडौं फर्के । केही दिन काम गरे फेरि निषेधाज्ञा भयो । काम गरेको पैसा पनि पाउन सकेनन् ।

यता प्रहरीमा कार्यरत कार्कीले निरन्तर घरभाडा तिर्न दबाब दिइरहे । उनले १० –१२ दिन भित्र भाडा तिर्न चेतावनी दिए । तर तामाङको केही सीप चलेन । उनले भाडा तिर्न सकेनन् । मंगलवार बेलुका करिब पौने नौ बजे घरबेटी कार्की र उनका बुवा भाडा उठाउन आए । भाडा नदिएको भन्दै उनीहरूले तामाङलाई निर्घात कुटपिट गरे र मोबाइल समेत खोसेर लगे ।
तामाङलाई कुटपिट गर्दा अन्य डेरावाला पनि रहेछन् । कुटपिट गर्ने कार्की प्रहरी भएकाले कोही बोल्न सकेनन् । हामीले सोध्दा समेत कोही खुलेर बोल्ने आँट गरेनन् । बरु कार्कीकै छिमेकी अप्सरा भण्डारीले बोल्ने साहस देखाइन् । कार्कीले यसअघि पनि भाडामा बस्नेलाई जबरजस्ती निकालिदिएको र आफूले एकरात शरण दिएको भण्डारीले जानकारी दिइन् । तर सई कार्कीले भने आफू माथि लागेको आरोप निराधार भएको दाबी गरे । डेरावाला तामाङ लामो समयदेखि सम्पर्कमा नआएको उनको भनाइ छ ।
सरकारले भाडा छुट दिन आग्रह गरे पनि कार्कीले भने अहिलेसम्म कसैलाई पनि भाडा छुट दिएका रहेनछन् । भाडा छुट दिने वा नदिने भन्ने विचार कार्कीको हो तर यसरी समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नुपर्नेमा उल्टै कुटपिटमा उत्रिनु निन्दनीय कार्य हो ।
– योहोखबरबाट
