महामारीको बेलामा फि तिर्न बाध्य बनाउदै सम्भ्रान्तका स्कूल , मुद्दा हाल्ने तयारीमा अभिभावक

विविध

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती तथा नेत्री आरजु राणा सञ्चालक रहेको ललितपुरको खुमलटारस्थित युलेन्स स्कूलले बैशाखदेखि असारसम्मको शुल्क अनिवार्य तिर्न निर्देशन दिएपछि अभिभावकहरू असन्तुष्ट बनेका छन् । शिक्षा मन्त्रालयले लकडाउनका बेला पठनपाठन नभएकाले शुल्क नमाग्न देशैभरका स्कूललाई निर्देशन गरेको बेला नेत्री राणा सञ्चालक रहेको स्कूलले अभिभावकलाई दबाब दिइरहेको छ । स्कूलले आकस्मिक कोष लगायत विभिन्न बहानामा अभिभावकलाई बढी शुल्क तिर्न बाध्य पारिरहेको जनाइएको छ । नाम नखुलाउने शर्तमा एक अभिभावकले भने, ‘चैत्रको पूरै शुल्क लिएका छन् । बैशाखदेखि असारसम्मको २० प्रतिशत घटाएर शुल्क मागेका छन् । तत्काल पैसा बुझाउनु भनिएको छ ।’

स्कूलले गत महिना दिनदेखि दैनिक डेढ घण्टा अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । सरकारले भने अनलाइन कक्षा सञ्चालन गर्दा पनि शुल्क नलिन निर्देशन दिएको थियो । तर नेत्री राणाको स्कूलले अवैध रुपमा शुल्क असुलिरहेको छ ।आकस्मिक कोषको रुपमा उठाएको पैसाले शिक्षकलाई ल्यापटप खरिद गर्ने स्कूलले जानकारी गराएको समस्यामा परेका अभिभावकले जनाएका छन् । सरकारले चैत्र महिनाको शुल्क मिनाहा गर्न निर्देशन गरेको थियो । शैक्षिक सत्र सुरू नभइ शुल्क मागेको भन्दै अभिभावकहरु सामूहिक रुपमा मुद्दा हाल्ने तयारीमा लागेका छन् ।

विद्यालयका अनियमितता अनुगमन तथा नियमनको जिम्मा पाएको स्थानीय तहले पनि पर्याप्त ध्यान नदिएको अभिभावकको गुनासो छ । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख महेन्द्र क्षेत्रीले शुल्क तिर्न बाध्य पारेकोबारे उजुरी नआएको बताए ।‘पहिला एउटा स्कूलको आएको थियो, पैसा फिर्ता गर्न लगायौं,’ क्षेत्रीले भने, ‘युलेन्सको विषयमा कुनै जानकारी आएको छैन ।’ कहिलेकाहीँ विद्यालय र अभिभावकबीच भएको सहमतिले समस्या पार्नसक्ने उनले बताए । शिक्षा मन्त्रालयबाट कुनै निर्देशन नआई कसैलाई शुल्क तिर्न बाध्य बनाउन नमिल्ने उनले बताए ।

हाल सम्पूर्ण शैक्षिक संस्था औपचारिक रुपमा बन्द रहेकाले यस्ता स्कूलविरुद्ध आएको उजुरीको आधारमा थप छानबिन गरिने उनले बताए । बन्दाबन्दीको समयलाई बर्खे बिदामा रुपान्तरण गरेर निरन्तर कक्षा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।