काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विदेशबाट आएका व्यक्तिमा देखिने गरेपनि अब बिस्तारै नेताभित्रै रहेका व्यक्तिमा समेत देखिन थालेको छ ।
कोरोनाको त्रास यतिमै सीमित छैन, सरकारी स्रोतसाधन र जनचेतना फैलाउने काम गर्ने मन्त्रालयसम्मै पुगेको छ । २ नम्बर प्रदेशकी आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवलाई कोरोना संक्रमण देखिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मन्त्रीका स्वकीय सचिवमा संक्रमण पुष्टि भएको बताएका छन् । मन्त्रीका स्वकीय सचिवमा कोरोना सम्बन्धी कुनै लक्षण भने देखिएका छैनन् । कोरोना देखिएका स्वकीय सचिवलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

प्रदेशसभा बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, स्वकीय सचिव, कर्मचारी र मर्यादापालकको स्वाब संकलन गरी जाँच गरिएको थियो । रिपोर्ट अनुसार प्रदेश सभाका ५ जना मर्यादापालक र मन्त्रीका स्वकीय सचिव गरी ६ जनामा कोरोना देखिएको छ ।
हिजो बुधबार प्रदेशसभा बैठकमा सहभागी भएका मर्यादापालकमा समेत कोरोना देखिएपछि प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री र सांसद समेतमा कोरोनाको त्रास देखिएको छ । कोरोना मन्त्रालय र प्रदेशसभासम्मै पुगेपछि नेताहरूबीच खैलाबैला मच्चिएको छ ।
मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीवारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रवार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाइएको छ ।
