वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला सभापतिमा प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि सम्पन्न प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा पन्तको प्यानलले सबै प्रमुख पदहरूमा सानदार जित हासिल गर्दै संगठनमा आफ्नो स्पष्ट वर्चस्व कायम गरेको हो ।
निर्वाचनमा पर्सा क्षेत्र नं. १ का सांसद समेत रहेका पन्तले १६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एवं क्षेत्र नं. २ का सांसद सुशील कुमार कानुले ११८ मत मात्र प्राप्त गरे । पन्तले कानुलाई ४८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
यस निर्वाचनमा सांसद कानुको पक्षमा क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसिया, क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्य र नेता सुधिर पटेलको बलियो मोर्चाबन्दी रहेको थियो । तर, पार्टीका पुराना नेतृत्व र निष्ठावान कार्यकर्ताहरूको साथ पाएका पन्तले उक्त त्रिपक्षीय गठबन्धनलाई पूर्ण रूपमा असफल पारिदिएका छन् ।

पन्त समूहको लहरले कार्यसमितिका अन्य प्रमुख पदहरूमा पनि क्लिन स्वीप गरेको छ । उपसभापतिमा पन्त समूहका दिलीपकुमार कुर्मी १६२ मत, सचिवमा सुदिशकुमार प्रजापति १६० मत र सहसचिवमा कृष्णा पासवान १४९ मतसहित विजयी भएका छन् ।
त्यस्तै सदस्य पदतर्फ तुलसापौडेल अधिकारी १६० मतका साथ सर्वाधिक लोकप्रिय उम्मेदवार बन्दै निर्वाचित भइन् भने अन्य सदस्यहरूमा प्रियङ्का कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी विजयी भए ।
यस परिणामसँगै रास्वपा पर्साको नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ । जिल्लाका तीन जना सांसदहरू एकातर्फ र पुराना कार्यकर्तासहितका हरि पन्त अर्कोतर्फ भई प्यानलसहित भएको यो भिडन्तको नतिजाले पर्सामा पन्त समूहको सांगठनिक पकड र जनमत अझ कसिलो र बलियो बनेको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ ।
