हिउँमा फसेका मजदुरको १४ दिनपछि हेलिकोप्टर मार्फत उद्धार

विविध

रसुवाको रसुवागढी हाइड्रोपावरमा मजदुरी गर्ने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का ३१ वर्षीय सुरज लामालाई १४ दिनपछि आज उद्धार गरी काठमाडौँ ल्याइएको हो । कोरोनाका कारण सरकारले लगाएको लकडाउन लम्बिदै जाँदा घरमा श्रीमति सुत्केरी हुने समय आएपछि रसुवा, नुवाकोट हुदै सिन्धुपाल्चोकको मेलम्ची हिडेका उनी सम्पर्कविहीन भएका थिए ।

परिवारले उनि सम्पर्क बिहीन भएको खबर गरेपछि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला प्रशासनको संयुक्त पहलमा खोजी गर्दा पनि नभेटिएका उनि रसुवा र नुवाकोटको सीमामा पर्ने सुर्यकुण्डको फेदीमा गोठालाहरुले भेट्टाएका थिए ।  नेकपाका केन्द्रिय सदस्य सिन्धुपाल्चोकका माधव सापकोटा र बलेफी गाउँपालिकाका अध्यक्ष केदार खत्रीको पहलमा आज बिहान लामालाई हेलिकोप्टर लगेर उद्धार गरि काठमाडौँ ल्याइएको हो ।

लामाको अहिले सिभिल अस्पतालमा बानेश्वरमा उपचार भइरहेको छ ।  हिउँका कारण हातखुट्टा नचल्ने अवस्थामा भेटिएका लामाको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । रसुवागढी हाइड्रोपावरबाट यहि बैशाख ६ गते हिडेका लामा रसुवाकोे गोसाइँकुण्ड नजिकै तारेभिरमा आइपुगेपछि हिउँमा फसेका थिए ।