चार मन्त्रालयले पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय गरेका छन् ।
यसबारे बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच छलफल भएको हो ।
सोसँगै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीच भएको उच्चस्तरीय परामर्श भएको थियो । परामर्शपछि अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।

त्यसका अलावा कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने निर्णय गरेको छ । त्यस्तै विदेशबाट रोजगारदाता कम्पनी वा विदेशी विमानले त्यसरी ल्याइदिन आग्रह गरेमा यसअघि ८ सय जना मात्र आउन दिइएकोमा अब यो संख्या तीन हजार पुर्याइने मन्त्रालयले जनाएको छ ।
यसअघि इत्तिहाद एयरले निःशुल्क कामदार ल्याउँछु भन्दा पर्यटन मन्त्रालयले अनुमति दिएको थिएन ।
त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने र नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले जनाएका छन् ।
उहाँले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील भएको भन्दै उनीहरुलाई स्वदेश फिर्ताका लागि सरकारले सक्दो कोशिस गरिरहेको बताउनु भयो ।
